काठमाडौं । अभिनेत्री काजल कर्णले आफूमाथि फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुव्र्यवहार भएको आरोप लगाउँदै मंगलबार चलचित्र कलाकार संघमा औपचारिक उजुरी दिएकी छन्।
कलाकार संघका अध्यक्ष उत्तम केसीका अनुसार कर्णले इमेलमार्फत उजुरी पठाएकी हुन्। उजुरीमा उनले सेटमा भएको भनिएको दुव्र्यवहारको निष्पक्ष छानबिन गर्न, घटनामा संलग्न व्यक्ति तथा प्रोडक्सन टिममाथि आवश्यक कारबाही गर्न र भविष्यमा कुनै पनि कलाकारमाथि यस्ता घटना दोहोरिन नदिन स्पष्ट प्रतिबद्धता जनाउन माग गरेकी छन्।
उजुरी प्राप्त भएपछि अध्यक्ष केसीले दुवै पक्षलाई छलफलका लागि आज वा भोलिभित्र बोलाइने जानकारी दिएका छन्। उनका अनुसार विवाद गम्भीर बन्दै गएकोले आवश्यक परे केही दिन छायांकनसमेत स्थगित गरेर घटनाबारे स्पष्ट छलफल गरिनेछ।
यसैबीच, मंगलबार प्रतिनिधिसभाको बैठकमा पनि अभिनेत्री कर्णलाई न्याय दिलाउनुपर्ने विषय उठेको छ। नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
यता, फिल्म ‘चिरञ्जीवि भवः’ का निर्देशक दीपक आचार्य (काकु) ले भने काजल कर्णले लगाएका आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।





