पोखरा । अभिनेता दयाहाङ राईले आफ्नो आगामी फिल्म ‘बुकी फूल’को छायांकन सुरु गरेका छन् । कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट फिल्मको छायांकन थालिएको हो ।
गण्डकी प्रदेशका सांसद बेदबहादुर गुरुङको परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा निर्माण हुन लागेको फिल्मको बिहीबार मुहूर्त गरिएको थियो । गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको फिल्मको छायांकन सिक्लेस तथा आसपासका क्षेत्रमा गरिने निर्माण पक्षले जनाएको छ ।
‘बुकी फूल’मा दयाहाङ राईसँगै संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ श्यामलगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्ममार्फत संस्कृति गुरुङले अभिनयमा डेब्यु गर्दैछिन् । उनले फिल्ममा दयाहाङ राईसँग जोडी बाँध्नेछिन् ।
मुहूर्त कार्यक्रममा फिल्मकर्मी नवीन सुब्बासहित मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति थियो । सो अवसरमा सुब्बाले ‘बुकी फूल’ गुरुङ समुदायको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित हुन सक्ने बताए । कथाअनुसारको मेकिङमा ध्यान दिन सके फिल्मले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ थियो ।
निर्माता गुरुङले ‘बुकी फूल’ आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ । आफ्नै परिकल्पनामा कथा तयार गरिएको बताउँदै उनले गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई फिल्ममा समेट्ने प्रयास गरिएको जानकारी दिए ।
निर्देशक ओमप्रकाश गुरुङले फिल्मको ऐतिहासिक परिवेशलाई ध्यानमा राखेर निर्माण गरिने बताए । कथाको मागअनुसार निर्देशन तथा प्रस्तुतिलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
सुसन प्रजापतिले छायांकन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । निर्माण टिमले फिल्मको छायांकन ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।





