काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘अक्षरा’को तीज गीत ‘नाचौँ न बरि लै’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो ।
लोकलयमा तयार पारिएको गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । उनीहरूको नृत्यलाई कार्यक्रममा उपस्थित दर्शक तथा फिल्मकर्मीले रुचाएका थिए ।
गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । विनयराज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्कालगायतको अभिनय रहेको छ । बाल कलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापा काजी र सुमन ज्योति न्यौपाने रहेका छन् ।
फिल्मको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन् । फिल्ममा अन्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वरमा विभिन्न गीत समावेश छन् ।
दिपेन बस्न्यातको छायाङ्कन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन तथा शंकर महर्जनको द्वन्द्व निर्देशन छ । ‘अक्षरा’लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन् ।
फिल्मका गीत तथा प्रचार सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ । यसका लागि निर्माण पक्ष र डिजिटल कम्पनीबीच केही दिनअघि औपचारिक सम्झौतासमेत भएको थियो ।





