००:००:००
ट्रेन्डिङ
समाचार

आसन्न निर्वाचनका लागि नेपाली जनता दलको घोषणा पत्र सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १६
94
आसन्न निर्वाचनका लागि नेपाली जनता दलको घोषणा पत्र सार्वजनिक
सारांश
नेपाली जनता दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो संक्षिप्त घोषणा पत्र सार्वजनिक गरेको छ ।

काठमाडौं । नेपाली जनता दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो संक्षिप्त घोषणा पत्र सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचार र बेरोजगारी अन्त्यलाई प्रमुख एजेण्डा बनाएको जनाएको हो ।

पार्टीका कार्यकारी अध्यक्ष नवराज सुवेदीले जेनजी आन्दोलनलगायत विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले सात दशक लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई शान्ति, सुशासन र समृद्धिको मार्गमा अघि बढाउन नयाँ वैचारिक हस्तक्षेप आवश्यक रहेको बताए ।

विसं २०५१ सालमा स्थापना भएको नेपाली जनता दल र २०८२ सालमा स्थापना भएको जनयुग पार्टीबीच गत मंसिर ६ गते एकता भएपछि संयुक्त रूपमा नेपाली जनता दल गठन गरिएको जानकारी दिइयो । पार्टीले उक्त एकतालाई परम्परागत राजनीतिमा वैचारिक बदलाव र सामाजिक–सांस्कृतिक क्षेत्रमा नवचेतना ल्याउने कदमका रूपमा व्याख्या गरेको छ ।

पार्टीले प्रकृतिवाद, वैज्ञानिक मानवतावाद र मौलिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ । नागरिक स्वतन्त्रता, समानता, सामाजिक न्याय, उद्यमशीलता प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ । साथै मानव, प्राणी जगत र वातावरण संरक्षणसहित नेपाली सभ्यताको विकासलाई पनि लक्ष्य बनाइएको जनाएको छ ।

जेनजी आन्दोलनपछि मुलुकमा नेतृत्व पुस्तान्तरणको बहस उठिरहेको सन्दर्भमा पार्टीले ‘नयाँ’ को अर्थ केवल उमेरसँग नजोडी विचार, दृष्टिकोण र आचरणमा समेत परिवर्तन हुनुपर्ने धारणा राखेको छ । हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार क्रियाशील रहेको उल्लेख गर्दै पार्टीले निष्पक्ष छानबिन र स्वच्छ निर्वाचनमार्फत संविधानलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ । नेपालको संविधान २०७२ कार्यान्वयनका क्रममा देखिएका त्रुटि सच्याउन आवश्यक संशोधन गरिनुपर्ने धारणा पनि पार्टीको छ ।

निर्वाचन तयारीबारे जानकारी दिँदै पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४७ जना उम्मेदवार उठाएको र प्रत्यक्षतर्फ कोशी, मधेश र लुम्बिनी प्रदेशका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार