काठमाडौं । दसैंको अवसर पारेर यही शुक्रबार, असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । करिब पाँच मिनेट लामो ट्रेलरले चलचित्रको कथावस्तु र भावनात्मक पक्षलाई प्रस्तुत गरेको छ ।
आमा र छोराबीचको सम्बन्धलाई मुख्य विषय बनाइएको ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध र श्रीमान्–श्रीमतीबीचको वियोगसम्मका प्रसंग समेटिएका छन् । ट्रेलरको सुरुवातमै कुकुरको बच्चामार्फत आमा र सन्तानबीचको आत्मीय सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाइएको छ ।
त्यसपछि कथा आमाको खोजीमा निस्किएको छोराले गर्ने संघर्षतर्फ केन्द्रित हुन्छ । ट्रेलरको अन्तिम दृश्यमा अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको अवस्थामा देखाइएको छ । यस दृश्यले चलचित्रको कथालाई थप रहस्यमय र भावनात्मक बनाएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य, रिश्ता गुरुङ, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायतका कलाकारको अभिनय रहेको छ । दिवंगत भारतीय अभिनेता प्रदीप रावतको यो अन्तिम नेपाली चलचित्र हो ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत र राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
चलचित्रका गीत, टिजर तथा अन्य प्रचार सामग्रीप्रति दर्शकले देखाएको चासोले ‘आ बाट आमा २’प्रति अपेक्षा बढाएको छ । दसैंको छेकोमा प्रदर्शनमा आउन लागेको चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने चासो पनि बढेको छ ।





