काठमाडौं । समीर भट्टको आगामी फिल्म ‘१२ गाउँ २’ मा कृशु शाही ‘काफिया’ले शीर्ष अभिनेत्रीको भूमिका निर्वाह गर्ने भएकी छन् । निर्माता तथा निर्देशक विराज भट्टले सामाजिक सञ्जालबाट लिड हिरोइनबारे औपचारिक जानकारी दिएका हुन् ।
काफिया चर्चित फिल्म वितरक गोविन्द शाहीकी छोरी हुन् । उनकै नामबाट शाहीले काफिया फिल्म्स ब्यानर संचालन गर्दै आएका छन् । ‘१२ गाउँ २’का वितरक पनि गोविन्द स्वयम हुन् ।
लिड हिरोइन टुंग्याएपछि विराजले लेखेका छन्, ‘चलचित्र क्षेत्रमा पहिलो पटक ‘१२ गाउँ २’ मार्फत पाइला टेक्दै कृशु शाही । उहाँलाई चलचित्र क्षेत्रमा स्वागत छ ! जय नेपाल, जय नेपाली सिनेमा !’
यो फिल्ममा समीरसँग कृशुले अनस्क्रिन रोमान्स गर्नेछिन् । पहिले नै फिल्ममा अनुबन्धित भैसकेपनि अभिनेत्रीबारे सोमबार मात्र जानकारी दिइएको हो ।
यही फिल्मका लागि भनेर कृशुले ४ वर्षदेखि अभिनय र नृत्य सिक्दै आएको उनका बुवा गोविन्दले बताए । गोविन्द र विराजले धेरैअघिको फिल्म ‘कहाँ छौं कहाँ’ बाट सहकार्य गर्दै आएका छन् ।
आउँदो दशैंमा रिलिज तयारीमा रहेको ‘१२ गाउँ २’को छायांकन २३ वैशाखदेखि हुने जनाइएको छ ।





