काठमाडौं । व्यवसायी तथा सामाजिक अभियन्ता वीरेन्द्र बहादुर बस्नेतले अबदेखि स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत देश सेवामा सक्रिय रहने घोषणा गरेका छन् ।
बस्नेतले शुक्रबार एक वक्तव्य जारी गर्दै भदौ २३ र २४ गते देशभर भएको जनविद्रोह र त्यस क्रममा ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको बताएका छन् ।
उनका अनुसार ती घटनाहरू केवल संयोग नभई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको जनआवाजको विस्फोट थियो ।
उनले उक्त विद्रोहपछि २४ घण्टाभित्रै पुरानो सत्ताको पतन भएको उल्लेख गर्दै त्यस घटनाले देश नयाँ दिशातर्फ मोडिन सक्छ भन्ने विश्वास आफूमा जन्माएको बताएका छन् ।
यही विश्वासका आधारमा आफू नयाँ राजनीतिक अभियानमा सहभागी भई गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेको उनले स्मरण गरेका छन् ।
तर हालको राजनीतिक संस्कार आफ्नो मूल्य र सोचसँग मेल नखाएको निष्कर्षमा पुगेपछि पार्टी तथा पदको सीमाभित्र रहेर देशप्रतिको योगदान दिन कठिन भएको महसुस गरेको उनले बताएका छन् । त्यसैले अब फरक बाटो रोजेर स्वतन्त्र रूपमा समाजसेवामा सक्रिय रहने निर्णय लिएको उनको भनाइ छ ।
बस्नेतले आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने उल्लेख गरेका छन् ।
उनले गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्य र एजेण्डाप्रति प्रतिबद्ध रहन शुभकामना व्यक्त गर्दै अन्य लोकतान्त्रिक राजनीतिक दलहरूलाई पनि सफलताको कामना गरेका छन् ।
बस्नेतले अब आफू स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै नागरिकहरूको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेका छन् ।





