००:००:००
ट्रेन्डिङ

प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा (फोटोफिचर)

सम्पादक
10 घण्टा अगाडि
96
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा (फोटोफिचर)
सारांश
प्रदर्शनकारीहरूले यदि प्रतिवेदन सार्वजनिक नगरेर ढिलाइ गरिरहिएमा थप दबाबमूलक कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले सरकारसँग उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिताविपरीत भएको बताएका थिए। उनीहरूले देशमा विभिन्न घटनापछि छानबिन गर्न समिति वा आयोग गठन हुने, ती समितिले विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तर ती प्रतिवेदनहरू लामो समयसम्म गोप्य राखिने प्रवृत्ति गलत भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। प्रदर्शनकारीहरूले यस्तो कार्यले जनतामा सरकारप्रति अविश्वास बढ्ने र न्यायको अपेक्षा कमजोर हुने धारणा पनि व्यक्त गरे।

उनीहरूको भनाइ अनुसार छानबिन आयोगको मुख्य उद्देश्य सत्य तथ्य सार्वजनिक गर्नु र सम्बन्धित पक्षलाई न्याय दिलाउनु हो। तर प्रतिवेदन नै सार्वजनिक नगरिएपछि छानबिनको औचित्यमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना हुने उनीहरूको तर्क छ। त्यसैले जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन मात्र नभई अन्य विभिन्न घटनामा बनेका आयोगहरूको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे सत्य तथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो। उक्त समितिले घटनाको विस्तृत अध्ययन गरी सम्बन्धित पक्षसँग छलफल तथा प्रमाण संकलन गरेर आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको बताइएको छ। तर प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आन्दोलनकारीहरूले सरकारलाई पारदर्शी बन्न र प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले यदि प्रतिवेदन सार्वजनिक नगरेर ढिलाइ गरिरहिएमा थप दबाबमूलक कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

Article image
Article image
Article image
साझा गर्नुहोस्: