काठमाडौं । भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवादेखि धादिङ–नुवाकोटसम्म ठूलो क्षति पुर्याएको छ । बाढीका कारण हजारौँ नागरिक प्रभावित तथा घरबारविहीन बनेका छन् । विपद्को यस घडीमा कलाकारहरूले आर्थिक तथा जिन्सी सहयोग जुटाउँदै आएका छन् ।
अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो पहलमा बाढीपीडितका लागि ठूलो मात्रामा जिन्सी सामग्री संकलन गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत राहत सामग्री प्याकिङ गरिरहेको तस्वीर तथा भिडियो सार्वजनिक गर्दै संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रसम्म पुर्याउने जानकारी दिएकी छन् ।
प्रियंकाले अहिलेसम्म राहत पुग्न नसकेका प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर सामग्री वितरण गर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अब प्राप्त भएका सबै सामग्रीलाई आवश्यकताअनुसार राम्रोसँग ‘सोर्ट आउट’ गरेर, विशेषगरी अहिलेसम्म राहत पुग्न नसकेका प्रभावित क्षेत्रसम्म पुर्याउने हाम्रो प्रयास रहनेछ ।’
एक भिडियोमार्फत उनले लत्ताकपडा पर्याप्त मात्रामा संकलन भइसकेको जानकारी दिँदै अब कपडाभन्दा खाद्यान्न र सोलार बत्ती सहयोग गर्न आग्रह गरेकी छन् ।
उनले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा सोलार बत्तीको अत्यधिक आवश्यकता रहेको जानकारी आएको बताउँदै भनिन्, ‘अब लुगा नपठाइदिनुहोला । बरु खाद्यान्न सहयोग गर्न सक्नुहुनेछ । अहिले रसुवा र नुवाकोटमा सोलार बत्तीहरू एकदमै आवश्यक रहेको खबर आएको छ । यी सामग्री सहयोग गरिदिनुभयो भने पीडितलाई ठूलो राहत हुनेछ ।’
प्राप्त जानकारीअनुसार प्रियंकाले तीन दिनको अवधिमा करिब तीन ट्रक जिन्सी सामग्री संकलन गरिसकेकी छन् । उनी संकलित सामग्री लिएर सोमबार त्रिशूलीभन्दा माथिका गाउँमा जाने तयारीमा थिइन् । तर, वर्षाका कारण सडक बिग्रिएपछि उनी काठमाडौंमै रोकिएकी छन् ।
यदि मंगलबारसम्म पनि प्रभावित क्षेत्रमा पुग्ने अवस्था नबने संकलित सबै राहत सामग्री नेपाली सेनालाई हस्तान्तरण गर्ने उनको योजना रहेको छ ।





