काठमाडौं । गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट गरेको आरोपमा दुई जनाविरुद्ध झापाको इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएका छन्। सोमबार दर्ता गरिएको निवेदनमा उनले करिब एक महिनाअघि भएको घटनाबारे उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
अशोकका अनुसार घटना उनी मामाघर गएका बेला भएको हो। महानन्द चोकमा खाजा खाने क्रममा ‘काजी’ नामले चिनिने एक व्यक्तिले सँगै जान आग्रह गरेका थिए। त्यसक्रममा अंकित भनिने व्यक्तिले आफूबाट एक हजार रुपैयाँ लिएको उनले बताएका छन्।
निवेदनमा उल्लेख भएअनुसार त्यसको करिब एक सातापछि देवी बस्तीको गेट नजिक स्कुटरमा पेट्रोल हालिरहेका बेला अंकित प्रधान र शनिश्चरेका शुक्रे नाम गरेका व्यक्तिले उनलाई ‘चोर’ भन्दै भिडियो खिच्दै कुटपिट गरेका थिए। उनीहरूले “हाम्रो एक हजार रुपैयाँ चाहियो” भन्दै दुर्व्यवहार गरेको र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेर आफ्नो प्रतिष्ठा र भविष्यमा असर पुर्याएको अशोकको आरोप छ।
अशोकले भिडियो हटाइदिन पटक–पटक आग्रह गर्दा पनि उल्टै धम्की दिइएको दाबी गरेका छन्। उनले कुटपिट गर्ने र भिडियो सार्वजनिक गर्ने दुवै व्यक्तिलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार उजुरी प्राप्त भइसकेको छ र घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
आइतबार साँझ अशोकमाथि कुटपिट भइरहेको भिडियो टिकटकमा भाइरल भएको थियो। भिडियोमा एक युवकले उनलाई गालामा थप्पड हानेको दृश्य देखिन्छ।
अशोक दर्जी गत वर्षदेखि झापाको बिर्तामोडमा परिवारसँग बस्दै आएका छन्। यसअघि उनी काठमाडौंमा गायक टंक बुढाथोकीको संरक्षणमा थिए। टंक बुढाथोकीले निर्माण गरेको चलचित्र ‘मन बिनाको धन’ मा अभिनय गरेपछि उनी परिवारसँग बस्न झापा फर्किएका हुन्। हाल उनी त्यहीँ अध्ययनसँगै गायन र अभिनयलाई निरन्तरता दिइरहेका छन्।





