काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिए । ‘बिहान ३ बजे आसपास आगजनी भएको हो । भित्र दुर्गा प्रसाईंको पर्चा भेटिएको छ,’ उनले भने, ‘सवारी धनीले हामीलाई यस्तो भएको भन्नुभएको छैन । हामी अनुसन्धान गर्दैछौं ।’
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।





