डडेल्धुरा — नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कांग्रेस परित्याग गर्दै औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।
एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले देउवा एमालेमा प्रवेश गरेको जानकारी दिएका छन्। कार्यक्रममा बोल्दै देउवाले नेकपा एमाले नै राष्ट्र निर्माणको प्रमुख शक्ति भएको दाबी गर्दै प्रतिनिधि सभाका उम्मेदवार चक्र प्रसाद स्नेहीलाई विजयी गराउन आफू एमालेमा आबद्ध भएको बताएका छन्।
गन्यापधुरा गाउँपालिका वडा नं. ३ मा देउवाको राम्रो प्रभाव रहेको बताइएको छ। उनलाई एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, प्रतिनिधि सभाका उम्मेदवार चक्र प्रसाद स्नेही लगायतका नेताहरूले स्वागत गरेका थिए।
स्थानीय राजनीतिक वृत्तमा देउवाको एमाले प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।






