अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पास हुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् ।
उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् ।
“हर्मुज मार्ग हुँदै तेल प्राप्त गर्ने विश्वका देशहरूले उक्त मार्गको सुरक्षा गर्नुपर्छ, र अमेरिकाले त्यसमा ठूलो सहयोग गर्नेछ,” ट्रम्पले पोस्टमा लेखेका छन् ।
अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रीट जर्नलको एक रिपोर्टका अनुसार ट्रम्प प्रशासनले विभिन्न देशको सहमतिमा हर्मुज जल मार्गमा जहाजहरूको सुरक्षाका लागि गठबन्धन गठन गर्ने योजना बनाइरहेको छ ।
हर्मुज मार्ग विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । विश्वमा कारोबार हुने कच्चा तेलको करिब २० प्रतिशत यही मार्ग हुँदै ओसारपसार हुने अनुमान गरिएको छ । हाल मध्यपूर्वमा बढ्दो तनावका कारण यस मार्गको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको छ ।
यसअघि बेलायतका ऊर्जा मन्त्री एड मिलबन्दले पनि हर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउन विभिन्न विकल्पहरूबारे बेलायतले आफ्ना सहयोगी देशहरूसँग छलफल गरिरहेको बताएका थिए ।
मध्यपूर्वमा बढ्दो सुरक्षा तनावका बीच अमेरिकी सरकारले क्षेत्रमै रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सोमबार जारी अद्यावधिक यात्रा परामर्शमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नागरिकलाई व्यावसायिक उडानहरू अझै उपलब्ध रहेको तर अचानक उडान रद्द हुन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
अमेरिकी विदेश विभागले जारी गरेको परामर्श अनुसार अहिले अबुधाबी र दुबईबाट अमेरिका तथा युरोपका विभिन्न शहरतर्फ जाने व्यावसायिक उडानहरू उपलब्ध छन् ।
यसैबीच रियादस्थित अमेरिकी दूतावासले साउदी अरबमा रहेका आफ्ना नागरिकलाई सम्भव भएसम्म व्यावसायिक उडानमार्फत देश छाड्न सुझाव दिएको छ ।
दूतावासका अनुसार साउदी अरबको हवाई क्षेत्र खुला भए पनि मिसाइल र ड्रोन आक्रमणको सम्भावित जोखिमका कारण हवाई यातायातमा बेला–बेला प्रतिबन्ध लाग्ने गरेको छ ।रियाद, जेद्दा र दमामका विमानस्थलहरू भने सञ्चालनमा रहेको जनाइएको छ ।
अमेरिका, इजरायल र इरानसँग सम्बन्धित जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रभर सुरक्षा तनाव बढ्दै गएको छ, जसले हवाई यातायात र नागरिक सुरक्षामा समेत असर पारिरहेको छ ।






