मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

बाढीपीडितको घरदैलोमा पुगिन् ‘अक्षरा’की न्यान्सी, उद्धारकर्मीलाई पनि सहयोग

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
18
800
बाढीपीडितको घरदैलोमा पुगिन् ‘अक्षरा’की न्यान्सी, उद्धारकर्मीलाई पनि सहयोग
सारांश
तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का बाढी प्रभावितको सहयोगमा जुटेकी छन् । उनले मंगलबार नुवाकोट पुगेर भोटेकोशी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सामग्री वितरण गरेकी हुन् ।

काठमाडौं । तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का बाढी प्रभावितको सहयोगमा जुटेकी छन् । उनले मंगलबार नुवाकोट पुगेर भोटेकोशी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सामग्री वितरण गरेकी हुन् ।

न्यान्सीले प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा र फलफूल उपलब्ध गराएकी थिइन् । राहत वितरणपछि उनले नुवाकोटको पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर बाढीका कारण प्रभावित भएका तथा उद्धार गरिएका व्यक्तिहरूसँग भेट गरेकी थिइन् ।

पिपलटारका वडा अध्यक्षसँग भेटेर उनले बाढी प्रभावित क्षेत्रको अवस्था र तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिइन् । त्यस क्रममा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक पर्ने मास्क र ग्लोभ्ससमेत हस्तान्तरण गरिन् ।

पूर्वमिस नेपाल इन्टरनेसनलसमेत रहेकी न्यान्सीले आफ्नो सहयोग ठूलो नभए पनि विपद्को समयमा प्रभावित परिवारको साथमा पुग्न पाउँदा खुसी लागेको बताइन् । उनले कठिन अवस्थामा पीडितको कुरा सुन्ने र आफ्नो क्षमताअनुसार सहयोग गर्ने उद्देश्यले आफू प्रभावित क्षेत्रमा पुगेको बताइन् ।

भोटेकोशी बाढीले निम्त्याएको विपद्का कारण न्यान्सीले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अक्षरा’को प्रचारलाई समेत अघि बढाउन सकेकी छैनन् । फिल्मबाट भने उनले ठूलो अपेक्षा राखेकी छन् ।

‘१२ गाउँ’ प्रदर्शनमा आएको करिब दुई वर्षपछि पर्दामा फर्किन लागेकी न्यान्सीले ‘अक्षरा’मा विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा उनको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ ।

विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा न्यान्सी र सुशीलसँगै सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, गीता अधिकारी र सिर्जना अधिकारीलगायत कलाकारको अभिनय छ ।

सोनी थापा प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने छायांकन दिपेन बस्न्यातले गरेका छन् । फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार