काठमाडौं । बलिउड अभिनेता सोनु सुद बाढी प्रभावितलाई सहयोग गर्न बुधबार नुवाकोट पुगेका छन् । मुम्बईबाट आएको सहायता टोलीसहित उनी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका हुन् ।
नुवाकोट जानुअघि सुदले काठमाडौंस्थित एक गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितलाई भेटेका थिए । उनले त्यहाँ रहेका बालबालिकासँग भेटघाट गरेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
मंगलबार काठमाडौं आइपुगेका सुदले नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्दै बाढीका कारण घरबारविहीन बनेका परिवारका लागि आवास निर्माण गर्ने योजना अघि सारेका थिए । उनले ‘एक घर बनाउने संकल्प’ अभियानमार्फत प्रभावित परिवारलाई दीर्घकालीन सहयोग गर्ने प्रस्ताव गरेका छन् ।
‘नेपाल अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सकेको सहयोग गर्नु सबैको मानवीय जिम्मेवारी हो,’ सुदले भने, ‘दूरबाट सहयोग पठाउनुभन्दा आफैँ प्रभावितको बीचमा पुगेर उनीहरूको हात समात्दै साथमा छौँ भन्ने अनुभूति गराउनु अझ महत्वपूर्ण हुन्छ । म यहाँ केवल सहयोग गर्न होइन, आफ्नो जिम्मेवारी पूरा गर्न आएको हुँ ।’
सुद च्यारिटी फाउन्डेसन, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर तत्काल आवश्यक पर्ने सामग्री तथा सहयोगको पहिचान गरिरहेको छ । उनका अनुसार भारतबाट दुई हजार थान कम्बलसहित लत्ताकपडा, सुक्खा खाद्यान्न र महिला स्वास्थ्य सामग्री नेपाल पठाइसकिएको छ ।
सुदले नुवाकोटसहित बाढी प्रभावित विभिन्न क्षेत्रको भ्रमण गरेर शिक्षा, स्वास्थ्य र आवासमा देखिएका समस्याको अध्ययन गर्ने बताएका छन् । स्थलगत अवस्थाका आधारमा दीर्घकालीन सहयोगको योजना बनाइने उनको भनाइ छ ।
नेपालीहरूको आत्मबल र मेहनती स्वभावको प्रशंसा गर्दै सुदले मुम्बईमा विगत २५–३० वर्षदेखि आफूसँग काम गर्ने अधिकांश व्यक्ति नेपाली रहेको बताए । विपद्को कठिन अवस्थामा समेत नेपालीले देखाएको धैर्यता र मुस्कानले आफूलाई थप प्रेरणा दिएको उनले उल्लेख गरे ।
उनले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण विश्वभर प्राकृतिक विपद्का घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । प्रकृतिको अत्यधिक दोहन तथा वनजंगल विनाश रोक्दै भावी पुस्ताको सुरक्षाका लागि वातावरण संरक्षणमा अहिलेबाटै गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।
लायन्स क्लब्स इन्टरनेशनल र खाल्सा एडसँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले नेपाल आएका सुदले विपद्को समयमा नेपाललाई सहयोग गर्न विश्वभर रहेका नेपाली तथा अन्य समुदायलाई समेत अपिल गरेका छन् ।
यसअघि भारतको पञ्जाबमा आएको बाढीपछि आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरिदिएको स्मरण गर्दै सुदले नेपालमा पनि आवश्यक स्थान पहिचान गरी प्रभावित परिवारका लागि आवास निर्माणको काम अघि बढाउने बताए ।





