काठमाडौं । गायक तथा बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको छ।
फिल्म निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सन प्रालिले मंगलबार विज्ञप्ति जारी गर्दै अशोक दर्जीसँग सम्बन्धित व्यक्तिगत कारणले उत्पन्न संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै चलचित्रको प्रचार–प्रसारसम्बन्धी कुनै पनि सामग्री तत्काल सार्वजनिक नगर्ने निर्णय गरिएको जनाएको छ।
विज्ञप्तिमा परिस्थिती सामान्य भएपछि नयाँ मिति तय गरेर टिजर सार्वजनिक गरिने उल्लेख गरिएको छ।
पछिल्लो समय आर्थिक लेनदेनको विषयलाई लिएर अशोक दर्जीमाथि दुर्व्यवहार भएको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त घटनाले व्यापक चर्चा पाएको छ।
सोही घटनापछि फिल्मको प्रचार अभियान प्रभावित भएको निर्माण पक्षले जनाएको छ।





