००:००:००
ट्रेन्डिङ
अर्थनीति

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने

Rangamanch
Rangamanch
२०२५ डिसेम्बर ३१
35
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने
सारांश
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सार्वजनिक सू...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया मार्फत लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको हो ।

यसअघि गत सोमबार मात्रै राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो । सूचना अनुसार ऋणपत्रको बोलकबोल २०८२ पुस १६ गते अर्थात आज मध्यान्ह १२ बजे अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । ऋणपत्रको निष्कासन पनि सोही दिन हुने जनाइएको छ ।
यस ऋणपत्रको अवधि एक वर्षको हुनेछ भने सावाँ भुक्तानी २०८३ पुस १६ गते गरिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँकै गुणकमा रकम प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ । कुल आह्वान गरिएको रकमसम्म लगानी गर्न सकिनेछ ।

यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । साथै, राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

बोलकबोलमा प्रस्ताव गर्दा इच्छाएको रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मिलाइनेछ । समान ब्याजदरमा बढी माग परेमा प्रो–राटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।
स्वीकृत बोलकबोल रकम निष्कासन मितिमा सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ । खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई जरिवाना सहित खुला बजार कारोबार तथा बोलकबोल प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाइने व्यवस्था पनि गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र लगानी पोर्टफोलियोअन्तर्गत पर्ने भएकाले अनिवार्य नगद मौज्दातमा गणना गरिने छैन । तर, वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।
ऋणपत्र परिपक्वता मिति अघि फिर्ता नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ । यससम्बन्धी अन्य प्रक्रिया प्रचलित ऐन, नियम र व्यवस्थाअनुसार हुने जनाइएको छ ।

साझा गर्नुहोस्: