काठमाडौं । निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको फिल्म ‘आचार्य’ले बक्स अफिसमा अपेक्षाकृत कमजोर व्यापार गरेको छ । प्रदर्शनको १० दिन पूरा हुँदा फिल्मले डेढ करोड रुपैयाँभन्दा केही बढी ग्रस कलेक्सन गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार असोज १८ गतेसम्म ‘आचार्य’ले १ करोड ५६ लाख ३७ हजार ५४६ रुपैयाँ ग्रस कमाएको छ ।
असोज ९ गते ‘आचार्य’सँगै प्रदर्शनमा आएको ‘बाः एक योद्धा’ले भने तुलनात्मक रूपमा राम्रो व्यापार गरिरहेको छ । बोर्डको तथ्यांकअनुसार आइतबारसम्म फिल्मले १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो ‘आचार्य’को भन्दा ३६ लाख ६८ हजार ९१९ रुपैयाँ बढी हो । रोचक कुरा, ‘बाः एक योद्धा’को सुरुवाती व्यापार भने ‘आचार्य’भन्दा कमजोर थियो ।
सोही मितिमा प्रदर्शनमा आएको अभिनेत्री नीति शाह स्टारर फिल्म ‘जदौ’को व्यापार भने निकै कमजोर देखिएको छ । १० दिनमा फिल्मले १३ लाख ९८ हजार ७१५ रुपैयाँ मात्रै ग्रस कमाएको छ । यस अवधिमा ३ हजार ८३७ जना दर्शकले फिल्म हेरेका छन् । योसँगै ‘जदौ’ यस वर्ष सबैभन्दा कम कमाउने नेपाली फिल्मको शीर्ष १० सूचीमा परेको छ ।
बक्स अफिसमा अन्य फिल्मको प्रदर्शन हेर्दा ‘गौँथली’ले २६ करोड १ लाख, ‘पेन्सन पट्टा’ले ९ करोड १३ लाख, ‘बेहुली’ले २ करोड ९९ लाख, ‘पार्वती’ले २ करोड २९ लाख, ‘झिँगेदाउ २’ले १ करोड ४५ लाख तथा ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड २७ लाख रुपैयाँ ग्रस कमाएका छन् ।
यस वर्षको बक्स अफिसमा ‘गौँथली’ सर्वाधिक कमाउने फिल्म बनेको छ भने ‘पेन्सन पट्टा’ तेस्रो स्थानमा रहेको छ ।





