काठमाडौँ । आगामी कार्तिक १३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको स्वर, शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका बबी लिम्बुले स्वरमा साथ दिएकी छन् ।
डान्सिङ नम्बरका रूपमा प्रस्तुत गरिएको गीतमा दसैँको टीका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा फिल्मका कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय देख्न सकिन्छ ।
गीतमा प्रयोग गरिएको लिङ्गे पिङ, चिटिक्क सजाइएका घर र सफा आँगनले गाउँघरको दसैँको झल्को दिन्छ । पारिवारिक तथा सांस्कृतिक माहोललाई केन्द्रमा राखिएको गीतले दसैँको उत्सव र उमंगलाई प्रस्तुत गरेको छ ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा शाही फिल्म प्रोडक्सन र विशआई फिल्मसको पनि सहकार्य रहेको छ । मदन थापाको निर्देशनमा बनेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारको अभिनय छ ।
फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन रहेको छ ।
रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताका रूपमा रहेका छन् ।





