काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंह जोडिएका छन् । चलचित्रमा दुवै कलाकार मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
हाल पश्चिम नेपालको दाङमा छायांकन भइरहेको चलचित्रमा निरुताले केही दिनपछि आफ्नो भागको छायांकन सुरु गर्ने निर्देशक सुनारले जानकारी दिएका छन् । यस्तै, विपिनले भने दसैँपछि चलचित्रको सेटमा सहभागी हुनेछन् । उनीहरूले निर्वाह गर्ने भूमिकाबारे भने निर्माण पक्षले केही खुलाएको छैन ।
कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा सञ्जीव सार्कीको लगानी छ भने दिनेश सिंह महरा कार्यकारी निर्माता छन् । चलचित्रको छायांकन यसअघि पुष्प खड्का र प्रशंसा रायमाझीबाट सुरु गरिएको थियो ।
सङ्कल्प भुजेलले छायांकन गरिरहेको ‘सिन्दूर’मा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । प्रकाश हमाल निर्माण प्रमुख रहेको चलचित्रमा करणबहादुर साउद मुख्य सहायक निर्देशक, रामजी लामिछाने नृत्य निर्देशक र एनबी महर्जन द्वन्द्व निर्देशकका रूपमा छन् । मदन सुरखेती सह-लेखक रहेको चलचित्रको प्रदर्शन मिति भने तय हुन बाँकी छ ।
सामाजिक कथावस्तुमा आधारित भनिएको चलचित्रले विशेषगरी एक महिलाको जीवनमा सिन्दूरको महत्त्व र त्यससँग जोडिएका भावनात्मक पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।





