काठमाडौँ - कात्तिकको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै यसले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक टिजरले दर्शकहरुको अपार माया पाइरहेको छ ।
यसैबिच, यो टिजर सार्वजनिक भएको ३ दिनमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आइपुगेको छ । सार्वजनिक भएको केही घन्टामै नेपालको युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा आएको यो टिजर अब भने पहिलो स्थान ओगट्न सफल भएको छ । नेपालसँगै विश्वका दर्जन बढी देशमा यो फिल्मको टिजर ट्रेन्डिङमा छ ।
टिजरले फिल्मको परिवेश र कथाका आयामहरुको झलक मात्र प्रस्तुत गरेको छ । कथाको बारेमा पूरा जानकारी नदिएर टिजरले टिज गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै फिल्म भित्र रहेको क्यान्डिड सटलाई स्थान दिइएको छ ।
फिल्म ‘बाटुलो जून’ ३० को दशकमा आधारित प्रेमकथामा बनेको चलचित्र हो । यो फिल्मले एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरेको छ । अहिलेको प्रविधिमैत्री र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, त्यो समयको प्रेम र त्यो समयको समाजलाई फिल्मले कथानकमा समटेको छ ।
यो फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् । ‘ड्रिम्स’मा उनले उत्तरआधुनिक प्रेमकथालाई पर्दामा प्रस्तुत गरेका थिए । तर यसपटक भने उनी त्यसभन्दा धेरै पछाडिको समयमा पुगेका छन् । त्यही समय, जुन समय नेपाली फिल्ममा भुवन केसी स्वयं पर्दामा देखिने यस्तै प्रेमकथाका लोकप्रिय नायक थिए ।
त्यसैले ‘बाटुलो जून’ केवल पुरानो समयको कथा भन्ने फिल्म मात्र नभएर भुवन केसीको आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको देखिन्छ । उनले आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै त्यही समयलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरेका छन् ।
फिल्ममा अनमोल केसीले मुख्य भूमिका निर्वाह गरेका छन् भने स्वयं भुवन केसी पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्मबाट प्रिन्सी खतिवडाले डेब्यु गरेकी छन् भने यही फिल्मबाट बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि पुनरागमन गरेकी छिन् ।
यो फिल्मलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् भने फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व संगीत छ । फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रुपमा रहेका छन् । फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा यो फिल्मका सह निर्माता हुन् । सनराइज पिक्चर प्रा.लिको व्यानरमा यो फिल्म निर्माण भएको हो ।
यो फिल्मको टिजर हेरेपछि दर्शक फिल्म हेर्न उत्साहित देखिएका छन् । यसको मेकिङ, कलाकारको अभिनय, लुक्सलाई दर्शकले अत्याधिक मन पराएका छन् ।
चलचित्र ‘बाटुलो जुन’को टिजर ट्रेन्डिङमा
S
1 दिन अगाडि
7
640

सारांश
काठमाडौँ - कात्तिकको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै यसले उत्कृष्ट प्रत...



