००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

राजनैतिक भारी बिसाएर अब इन्टरटेनर हुन चाहन्छु : प्रकाश सपुत

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
56
राजनैतिक भारी बिसाएर अब इन्टरटेनर हुन चाहन्छु :  प्रकाश सपुत
सारांश

गायक तथा अभिनेता प्रकाश सपुतले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाएपछि आफू सांसद बन्ने अवसरबाट बाहिरिए पनि आफ्नो उद्देश्य पूरा भएको अनुभूति भएको ...

गायक तथा अभिनेता प्रकाश सपुतले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाएपछि आफू सांसद बन्ने अवसरबाट बाहिरिए पनि आफ्नो उद्देश्य पूरा भएको अनुभूति भएको बताएका छन्। उनले अब पुनः पूर्ण रूपमा कलाकारितामै फर्किने घोषणा गरेका छन्।

सपुतका अनुसार निर्वाचनमा होमिनुको उनको मुख्य लक्ष्य पद प्राप्त गर्नु मात्र नभई तीनवटा विषयमा केन्द्रित थियो—नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न सहयोग गर्ने, स्थिर सरकार निर्माणका लागि भूमिका खेल्ने, र उत्पीडित समुदायका मुद्दालाई सशक्त रूपमा प्रस्तुत गर्ने। उनले यी उद्देश्यहरूमा आफू सफल भएको बताएका छन्।

“म छुटेँ भन्ने लागे पनि, आफ्नो लक्ष्य हासिल भएकोमा सन्तुष्ट छु,” उनले भने, “छोटो तयारीका बीच पनि राम्रो समर्थन पाउनु मेरो लागि उपलब्धि हो।”उनले व्यक्तिगत रूपमा कुनै क्षेत्र वा स्वार्थका लागि भोट नमागेको स्पष्ट पार्दै यसपटक आफू परिवर्तनको पक्षमा जनमत निर्माण गर्ने अभियानमा रहेको उल्लेख गरे। उनका अनुसार यो निर्वाचन परिवर्तनको पक्षमा गएको जनमतको संकेत हो।

राजनीतिक यात्राका क्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा अधिकारकर्मीहरूसँग छलफल गर्दै ठोस योजना बनाउने तयारी रहेको उनले बताएका छन्। तर, अहिलेको अवस्थामा सक्रिय राजनीतिभन्दा टाढा रहँदै अन्य माध्यमबाट योगदान दिने निर्णयमा पुगेका छन्।

पार्टी नेतृत्वसँग भएको संवादबारे उल्लेख गर्दै उनले भविष्यमा पार्टीभित्र वा बाहिर रहेर योगदान दिन सकिने सम्भावना खुला राखेका छन्। साथै, कुनै पद वा नियुक्तिको अपेक्षा नराख्ने पनि स्पष्ट पारेका छन्।

“अब म ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु,” उनले भने, “राजनीतिक र सामाजिक चेतको भारी केही समयका लागि बिसाएर सिर्जनात्मक काममै फर्किन चाहन्छु।”

सपुतको यस घोषणासँगै उनी पुनः संगीत र अभिनय क्षेत्रमा सक्रिय हुने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार