००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा, अभिनेत्री काजल कर्णले विभेदको आरोप लगाएपछि निर्माण पक्षको खण्डन

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
27
1.0K
फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा, अभिनेत्री काजल कर्णले विभेदको आरोप लगाएपछि निर्माण पक्षको खण्डन
सारांश
छायांकनको क्रममा रहेको नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ।

काठमाडौं । छायांकनको क्रममा रहेको नेपाली फिल्म ‘चिरञ्जीवि भवः’ विवादमा तानिएको छ। अभिनेत्री काजल कर्णले आफू मधेशी भएकै कारण विभेद गरिएको र अन्ततः फिल्मबाट हटाइएको आरोप लगाएपछि यो विषय चर्चामा आएको हो।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कर्णले फिल्मको सेटमा आफूलाई ‘मधेशिनी’ भन्दै बारम्बार जिस्काइएको, वर्ण र भूगोलका आधारमा अपमानजनक टिप्पणी गरिएको तथा केही प्राविधिक सदस्यबाट असहज व्यवहार भएको दाबी गरेकी छन्। उनले यस घटनामा संलग्न रहेको भन्दै केही सदस्यको नामसमेत उल्लेख गरेकी छन्।

कर्णले आफूले काम गरेबापतको पारिश्रमिकसमेत पूर्ण रूपमा नपाएको आरोप लगाएकी छन्। ३५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपले नेपाली फिल्म क्षेत्रमा नयाँ बहस सुरु गरेको छ।

यता, फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ले भने कर्णका आरोप अस्वीकार गरेका छन्। उनले आफूलाई यसबारे कुनै औपचारिक जानकारी नआएको उल्लेख गर्दै यदि छायांकन टोलीका कुनै सदस्यबाट विभेदपूर्ण व्यवहार भएको प्रमाणित भए दोषीमाथि तत्काल कारबाही गरिने बताएका छन्।

निर्देशक आचार्यका अनुसार कर्णले अभिनय गरेका सबै दृश्यहरूको फुटेज निर्माण टिमसँग सुरक्षित छ र उनीमाथि लगाइएका केही आरोप तथ्यहीन छन्। पारिश्रमिकको विषयमा उनले सबै कलाकारलाई तेस्रो किस्ता डबिङ सम्पन्न भएपछि मात्रै दिने पूर्वनिर्धारित व्यवस्था रहेको स्पष्ट पारे।

यसैबीच, नेपाल चलचित्र कलाकार संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अनुसार अहिलेसम्म औपचारिक उजुरी प्राप्त नभए पनि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। संघले निष्पक्ष अनुसन्धान र आपसी संवादमार्फत विवाद समाधान गर्न आग्रह गर्दै सामाजिक सञ्जालभन्दा संस्थागत प्रक्रियालाई प्राथमिकता दिन अनुरोध गरेको छ।

यो घटनाले नेपाली चलचित्र उद्योगमा कार्यस्थलको व्यवहार, समानता र व्यावसायिक वातावरणबारे पुनः बहस सुरु गराएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार