काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले कलाकार सागर लम्सालविरुद्ध गम्भीर आरोप लगाएकी छिन्। सामाजिक सञ्जालमार्फत लामो अनुभव सार्वजनिक गर्दै उनले आफू यौन दुर्व्यवहारको शिकार भएको दाबी गरेकी हुन्।
उनका अनुसार, करिब एक वर्षअघि उनी मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन्। बाल्यकालदेखि नै डिप्रेसन र एन्जाइटीबाट प्रभावित रहेकी उनी अमेरिका पुगेपछि झन् एक्लोपन र नयाँ परिवेशका कारण थप मानसिक दबाबमा परेकी थिइन्। अवस्था बिग्रिँदै जाँदा उनलाई अस्पतालमा समेत भर्ना हुनुपरेको थियो।
अस्पतालबाट डिस्चार्ज भएपछि उनी सामान्य जीवनमा फर्किने प्रयासमा थिइन्। त्यही समयमा नेपालबाट चिनजान भएका केही व्यक्तिहरू अमेरिका पुगेका थिए। तीमध्ये एक व्यक्तिलाई उनले आफन्तसरह विश्वास गर्दै ‘दाइ’ भनेर सम्बोधन गर्ने गरेको उल्लेख छ।
परिवारकै सल्लाहमा उनी ती व्यक्तिहरूसँग भेट्न पुगेकी थिइन्। त्यसक्रममा तीमध्ये एकले उनको बसोबास हेर्ने इच्छा व्यक्त गरेपछि उनीसँगै अपार्टमेन्टसम्म पुगेको बताइएको छ। पीडितका अनुसार, त्यहाँ स्वास्थ्य अवस्था र व्यक्तिगत संघर्षबारे कुरा भइरहेका बेला आफूले विश्वास गरेको व्यक्तिबाटै अनपेक्षित रूपमा दुर्व्यवहार भएको थियो।
घटनापछि आफू मानसिक रूपमा पूर्ण रूपमा कमजोर बनेको, कसैसँग कुरा गर्न नसकेको र परिवारलाई समेत जानकारी दिन नसकेको उनले उल्लेख गरेकी छिन्। डर, लाज र परिस्थितिका कारण लामो समयसम्म चुप बस्न बाध्य भएको उनको भनाइ छ।
उनले उक्त घटनाले आफ्नो आत्मविश्वास र आशा कमजोर बनाएको बताउँदै सामान्य जीवनयापन गर्न कठिन भइरहेको उल्लेख गरेकी छिन्। साथै, आरोपित व्यक्ति भने सामान्य जीवन बिताइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।
हालसम्म आरोपबारे आरोपित पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यस विषयमा कानुनी प्रक्रिया अघि बढेको वा अनुसन्धान सुरु भएको सम्बन्धमा पनि स्पष्ट जानकारी सार्वजनिक भएको छैन।





