००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन विवादमा, शिव परियारको कडा प्रतिक्रिया

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
81
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन विवादमा, शिव परियारको कडा प्रतिक्रिया
सारांश
परियारले सरकार तथा सम्बन्धित निकायलाई अपुष्ट सूचनाका आधारमा गरिएको निष्कर्ष पुनः मूल्यांकन गर्न आग्रह गर्दै आवश्यक परे अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’ भनेर उल्लेख गरिएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले उक्त निष्कर्ष तथ्यमा आधारित नभएको दाबी गर्दै सरकारसँग पुनर्विचारको माग गरेका छन्।

सोमबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा परियारले २०८२ भदौ २३ गते भएको जेन–जी आन्दोलनका बेला देश अत्यन्तै संवेदनशील अवस्थाबाट गुज्रिएको स्मरण गरेका छन्। त्यतिबेला सामाजिक सञ्जालमा अपुष्ट र भ्रमपूर्ण सूचनाहरू व्यापक रूपमा फैलिएको र यथार्थ जानकारी पाउन कठिन भएको उनले बताएका छन्।

परियारका अनुसार भदौ २४ गते ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत अवस्थामा भेटिए’ भन्ने खबर सामाजिक सञ्जालमा बारम्बार देखिएपछि उनले त्यसको सत्यता बुझ्न प्रश्नात्मक पोस्ट गरेका थिए। ‘यो खबर कत्तिको सत्य हो?’ भन्ने जिज्ञासा राख्दै गरिएको उक्त पोस्ट कुनै पनि रूपमा भ्रम फैलाउने उद्देश्यले नभएको उनको स्पष्टिकरण छ।

उनले पोस्टपछि आएका प्रतिक्रियाबाट उक्त खबर गलत रहेको थाहा पाएपछि तत्कालै पोस्ट हटाएको बताएका छन्। तर त्यसपछि केही सामाजिक सञ्जाल पेज, समूह र अनलाइन माध्यमहरूले यथार्थ नबुझी आफूलाई ‘भ्रम फैलाउने’ व्यक्तिको रूपमा चित्रित गर्दै समाचार प्रकाशन गरेको उनले आरोप लगाए।

यिनै सामग्रीका आधारमा आयोगको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। यसबाट आफ्नो व्यक्तिगत प्रतिष्ठा, संवैधानिक अधिकार तथा कलाकारको छविमा नकारात्मक असर परेको उनको भनाइ छ।

परियारले सरकार तथा सम्बन्धित निकायलाई अपुष्ट सूचनाका आधारमा गरिएको निष्कर्ष पुनः मूल्यांकन गर्न आग्रह गर्दै आवश्यक परे अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार