काठमाडौं । चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेटभन्दा लामो ट्रेलरमा अन्यायविरुद्ध लड्ने पात्रको कथा देखाइएको छ । प्रेम, बदला र भावनात्मक उतारचढावलाई पनि ट्रेलरमा समेटिएको छ ।
साहिल खानले तयार पारेको ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् । पश्चिमेली लवजमा प्रस्तुत भएका उनी श्रीमती ९सुपुष्पा भट्ट०को हत्याको बदला लिन भिलेनहरूसँग लडिरहेका देखिन्छन् । ट्रेलरमा उनको हिंसक अवतारसँगै भावनात्मक पक्ष पनि देखाइएको छ । विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ ।
फिल्मले सुन, पैसा र जनावरको अवैध चोरी निकासीलाई मुख्य विषयवस्तु बनाएर प्रेम र पारिवारिक कथा प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ । विराजको छोरीको भूमिकामा दिव्या रायमाझी देखिएकी छन्, जसको सुशीलसँग प्रेम रहेको देखाइएको छ । स्व।सुनिल थापा भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरले एक्सनप्रति रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।
निर्देशक चन्द स्वयंको लेखन रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत छ । यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत यतिबेला सर्वाधिक चर्चामा छ ।
तस्वीर : योगेन्द्र नगरकोटी






