००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘टक्सिक’ १० भदौमा विश्वभर प्रदर्शन हुने

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जुन २१
61
1.6K
‘टक्सिक’ १० भदौमा विश्वभर प्रदर्शन हुने
सारांश
यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।

यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता पक्षले फिल्म आगामी २६ अगस्ट २०२६ (१० भदौ) मा विश्वभर रिलिज हुने जनाएको छ ।

रिलिज मितिसँगै यशको डबल अवतार झल्किने नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा उनको दुई फरक पात्र ‘राया’ र ‘टिकट’ को लुक देखाइएको छ ।

यशले फादर्स डे (२१ जुन) को अवसरमा पोस्टर सार्वजनिक गर्दै ‘आफ्ना पिताको सम्मान गर’ भन्ने सन्देश लेखेका छन् । पोस्टर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रशंसकको उत्साह उल्लेखनीय रूपमा बढेको छ ।

प्रदर्शन मिति यसअघि पटक-पटक परिवर्तन गरिएको थियो । सुरुमा यो फिल्म १० अप्रिल २०२५ मा रिलिज हुने तय भएको थियो । त्यसपछि मिति सारेर १९ मार्च २०२६ बनाइयो भने पछि फेरि ४ जुन २०२६ मा प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।

मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण फिल्म उद्योगको काम प्रभावित भएकाले प्रदर्शन स्थगित गरिएको निर्माता पक्षले जनाएको थियो । यद्यपि, केही रिपोर्टअनुसार मार्चमा प्रदर्शन हुने भनिएको अर्को ठूलो फिल्म ‘धुरन्धर २’ सँग बक्स अफिस भिडन्त टार्न पनि रिलिज मिति सारिएको बताइएको थियो ।

करिब ८०० देखि ८५० करोड भारतीय रुपैयाँ बजेटमा निर्माण भएको ‘टक्सिक’ मा यशसँगै कियारा आडवाणी, हुमा कुरैशी, अक्षय ओबेरोय, तारा सुतारिया, टोभिनो थोमस, नयनतारा, रुक्मिणी वसन्त र सुदेव नायर को अभिनय रहेको छ ।

फिल्मको निर्देशन गीतु मोहनदासले गरेकी हुन् । कथा गीतु मोहनदास र यशले संयुक्त रूपमा लेखेका हुन् । ‘टक्सिक’ लाई एकैसाथ कन्नड र अंग्रेजी भाषामा छायांकन गरिएको छ भने हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा डब गरेर प्रदर्शन गरिनेछ ।

यश स्वयं पनि फिल्मका निर्माता हुन् । उनले वेंकट के. नारायण सँग मिलेर फिल्म निर्माण गरेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार