काठमाडौँ । आमालाई कथाको केन्द्रमा राखेर थुप्रै नेपाली चलचित्र बनेका छन् । नेपालमा बनेको पहिलो चलचित्र नै यही नामबाट बनेको हो । भलै त्यसमा देशलाई आमाको अलंकारको रुपमा प्रयोग गरिएको छ । त्यसयता नाममै हुन् वा कथामा आमाहरु केन्द्रमा रहने गरेका छन् । आमा र छोराछोरीको सम्बन्ध द्धन्द्धप्रधानदेखि सामाजिक फिल्मसम्मका लागि दर्शकसम्म पुग्ने बहाना बनेका छन् । यही परम्पराको निरन्तरताको रुपमा आउँदो फागुन १ गतेदेखि आउँदैछ, ‘श्री बुकुरो’ । सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा भने आमासँगै घरको कथा पनि जोडिएको छ ।
निर्देशक सुदीप भूपाल सिंहका अनुसार चलचित्र ‘श्री बुकुरो’ आफूले दिनदिनै देखिरहने दृश्यबाट प्रेरित भएर तयार गरिएको बताए । उनका अनुसार आफ्ना बच्चा बच्चीलाई गन्तव्यमा लिएर हिँडिरहेकी आमाहरुको दृश्य नै कथाको आधार हो ।
‘शाब्दिक रुपमा बुकुरो भनेको झुपडी घर हो । यही घर छाडेर टाढा टाढा चारा टिप्न परपर पुगेका चरा गुँड फर्कने कथा, चलचित्रको सार हो,’ सुदीपले भने ।
चलचित्रमा लक्ष्मी गिरीले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । वर्षौँपछि शीर्ष भूमिकामा अभिनय गर्ने प्रस्ताव आउँदा थोरै अकमकिएको अनुभव सुनाउँदै उनले भूमिका चुनौतीपूर्ण भएपनि चरित्रकी आमा र आफूमा धेरै समानता रहेकाले सहजतापूर्वक निर्वाह गरेको बताइन् ।
‘म अहिले पनि संयुक्त परिवारमा बस्छु । त्यसैले परिवारसँगै मिलेर बस्नुको फाइदा बुझ्छु । यो चलचित्रले पनि यही सन्देश प्रवाह गर्ने उद्देश्य राखेको हुनाले काम गर्न गाह्रो भयो,’ उनले निर्देशकलाई व्यंग्य गर्दै थपिन्, ‘बरु निर्देशकले मेरो छक्का पञ्जामा लात्ती हानेको मात्र देख्नु भएको रैछ । झोलामा गरेको काम देख्नु भएकै रैनछ ।’
गिरीले निर्देशकलाई मैले अलि लाउड अभिनय गर्छु कि भन्ने डर रहेछ तर आफूले चरित्र बुझेर काम गर्ने भएकाले कुनै समस्या नभएको अनुभव सुनाइन् ।
निर्माण टिमका अनुसार चलचित्रले तीन सन्तानबीचको विग्रह र बिखन्डनको अवस्थालाई आमाको हस्तक्षेपले सम्हालिने कथा प्रस्तुत गरेको छ । चलचित्रमा आशीर्वाद क्षेत्रीले कान्छो छोराको भूमिका निर्वाह गरेका छन् भने निकिता आचार्यले कान्छी बुहारीको ।
निर्देशक सुदीपले दुवैलाई उनीहरुको पूर्व चलचित्रको कामबाट प्रेरित भएर ‘श्री बुकुरो’मा लिएको बताए । यता आशीर्वादले भने पहिलो न्यारेसनमै कथा मनपराएकाले चलचित्रमा अभिनय गरेको बताए ।
‘म पनि वास्तविक जीवनमा आमासँगै नजिक छु । यो चलचित्रले पनि आमालाई मध्यविन्दुमा राखेर भनिनु पर्ने कथा भनेको छ । अनि कथा सुनाउँदै गर्दा सुदीप दाइले जसरी कथा सुनाउनु भयो, त्यसरी नै उतार्नुहुन्छ भन्ने विश्वास भएपछि कथाको हिस्सा बन्ने निर्णय गरेँ । एउटा राम्रो चलचित्रको हिस्सा बनेको अनुभव भएको छ,’ आशीर्वादको भनाइ छ । ‘नाइँ नभन्नू ल ६’ बाट अभिनय थालेका आशीर्वादको यो दोस्रो चलचित्र हो ।
‘बाबरी’ र ‘खेल’ हुँदै ‘श्री बुकुरो’ गर्न आइपुगेकी निकिता आचार्य पेशाले आइटी इन्जिनियर हुन् । थिएटर हुँदै चलचित्र अभिनयमा सक्रिय उनले ‘श्री बुकुरो’मा काम गर्दाको अनुभव विशेष रहेको बताइन् ।
‘यो चलचित्रको काम गराइ मेरा लागि पाठशाला जस्तो थियो । निर्माता रुबि दिदीसँगै लक्ष्मीआमासँग पूराना कुराहरु सुन्न पाउँदा धेरै कुरा सिकेको अनुभव भयो,’उनले भनिन्, ‘ योसँगै चलचित्रले पनि परिवारको महत्वको बारेमा हामीलाई रमाइलो गराउँदा गराउँदै गम्भीर रुपमा चिन्तन गर्न प्रेरित गर्छ । अहिलेको समयमा एकदमै सान्दर्भिक कथा भनिएको छ ।’
निर्देशक सुदीप चलचित्रमा कविताको प्रयोगलाई लिएर कसैलाई यो गम्भीर सिनेमा पो हो कि भन्ने परेको भए त्यस्तो नठान्न आग्रह गर्छन् । उनले आफूले चलचित्रलाई साहित्यको अभिन्न अंगको रुपमा लिएको बताउँदै यो चलचित्रले मागेको ठाउँमा काव्यिक महसुस गराउने बताए । उनले भने–सार्वजनिक सामाग्रीले अलि फरक चलचित्र हो कि भन्ने भान दियो भने त्यो गलत हो । हामीले पोस्टरमै पनि लेखेका छौँ । यो पूर्ण पारिवारिक एवं मनोरञ्जनात्मक चलचित्र हो । फरक यत्ति हो कि यसले मनोरञ्जनसँगै मीठो सन्देश पनि दिन्छ ।





