मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

श्रद्धा प्रसाईंले निर्देशन गर्ने ‘डियर काव्या’ घोषणा, उपासना र विक्की मुख्य भूमिकामा

रङ्गमञ्च
रङ्गमञ्च
2 दिन अगाडि
11
700
श्रद्धा प्रसाईंले निर्देशन गर्ने ‘डियर काव्या’ घोषणा, उपासना र विक्की मुख्य भूमिकामा
सारांश
चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’की निर्देशक तथा अभिनेत्री श्रद्धा प्रसाईं फिल्म निर्देशनमा पनि सक्रिय हुँदै गएकी छन् ।

काठमाडौं । चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’की निर्देशक तथा अभिनेत्री श्रद्धा प्रसाईं फिल्म निर्देशनमा पनि सक्रिय हुँदै गएकी छन् । उनको पहिलो निर्देशकीय फिल्म ‘ककाकिकी’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसपछि उनले अभिनेत्री रेखा थापाको नयाँ कमेडी फिल्म ‘काउकुती’ समेत निर्देशन गर्ने तयारी छ ।

तर, ‘काउकुती’भन्दा अगाडि श्रद्धाले नयाँ फिल्म ‘डियर काव्या’ निर्देशन गर्ने भएकी छन् । बिहीबार काठमाडौंको विजेश्वरीस्थित होटल बज्रमा आयोजित विशेष समारोहबीच फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । सोही अवसरमा ३० फिट लामो फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको थियो ।

आगामी मंसिरमा छायांकन सुरु हुने फिल्ममा उपासना सिंह ठकुरी र विक्की शमशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । थिएटर पृष्ठभूमिका विक्कीले ‘डियर काव्या’बाट फिल्म अभिनयमा डेब्यू गर्न लागेका हुन् ।

फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा देवी सिंह र हेमकुमारी भेटुवालले फिल्म निर्माण गर्नेछन् । दीया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् । अभिनेत्रीसमेत रहेकी दीया मास्केले यही फिल्ममार्फत निर्माणमा समेत हात हालेकी हुन् । यद्यपि, फिल्ममा उनको अभिनय रहने वा नरहनेबारे निर्माण पक्षले खुलाएको छैन ।

फिल्मको छायांकन नेपालगन्जमा गर्ने तयारी गरिएको छ । ‘डियर काव्या’को कथा, कलाकार र अन्य प्राविधिक पक्षबारे भने निर्माण पक्षले थप जानकारी क्रमशः सार्वजनिक गर्ने जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार