काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पाँच महिनाअघि दिएको एक अन्तरवार्ताको अंश अचानक सामाजिक सञ्जालमा भाइरल भएपछि असन्तुष्टि व्यक्त गरेकी छन्। उनले उक्त क्लिपलाई सन्दर्भविहीन रूपमा अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताएकी छन्।
पत्रकार बबिता बस्नेत सँगको पोडकास्ट अन्तरवार्तामा करिश्माले आफ्नो वैवाहिक जीवनबारे खुलेर धारणा राखेकी थिइन्। उनले पति विनोद मानन्धरसँगको सम्बन्धलाई “ह्यूमन र बेस्ट फ्रेन्ड” को रूपमा व्याख्या गर्दै, एकअर्काप्रतिको विश्वास र समझदारीलाई मुख्य आधार बताएकी थिइन्।
अन्तरवार्ताको एक अंशमा भने उनले विगतमा दुवै जनाको अन्य सम्बन्धहरू रहेको संकेत गरेकी थिइन्, जसलाई अहिले सामाजिक सञ्जाल—विशेषगरी टिकटकमा फरक अर्थ लगाउँदै व्यापक प्रतिक्रिया दिइँदै आएको छ।
क्लिप भाइरल भएपछि करिश्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै समाचारलाई सन्दर्भ नबुझी अतिरञ्जित बनाउने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्। उनले जीवनका विभिन्न चरणमा सम्बन्धहरू बन्नु स्वाभाविक रहेको र त्यो प्रत्येक व्यक्तिको निजी विषय भएको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “समाचार लेख्दा वा टिप्पणी गर्दा महिलाहरूको अस्मिता सम्झेर सुन्ने, बुझ्ने र सम्मान गर्ने संस्कार विकास गरौँ।” साथै, केवल आर्थिक लाभका लागि सामग्रीलाई अतिरञ्जित बनाउने कार्य अनुचित रहेको भन्दै यस्तो प्रवृत्ति बढेमा कडा कानुनी व्यवस्था आवश्यक पर्न सक्ने चेतावनीसमेत दिएकी छन्।
करिश्माले आफू पुरानो कलाकार भएको नाताले आफ्नो जीवन खुला किताबझैँ स्पष्ट रहेको उल्लेख गर्दै, आफ्नो विषयमा लेखेर फाइदा लिन खोज्ने प्रवृत्तिप्रति आश्चर्य व्यक्त गरेकी छन्।




