काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङ नयाँ फिल्ममा जोडीका रूपमा देखिने भएका छन् । रोहित अधिकारी फिल्म्स र ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुन लागेको नयाँ प्रेमकथामा पल र जसितालाई मुख्य भूमिकामा प्रस्तुत गर्ने तयारी गरिएको हो ।
फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जसितासँग औपचारिक सम्झौता भइसकेको छ भने पलसँग पनि मौखिक सहमति भइसकेको छ । पललाई चाँडै नै औपचारिक रूपमा अनुबन्ध गर्ने तयारी रहेको निर्माता अधिकारीले बताएका छन् ।
दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण हुने बताइएको छ । फिल्मको छायांकन आगामी चैतबाट सुरु गर्ने तयारी छ । हाल फिल्मका लागि प्राविधिक टोली तथा अन्य कलाकारको छनोटको काम भइरहेको छ ।
निर्माता अधिकारी र निर्देशक लामाले यसअघि पनि विभिन्न प्रोजेक्टमा सहकार्य गरिसकेका छन् । रोहित अधिकारी फिल्म्सले अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’को सिक्वेलका रूपमा अर्को फिल्म निर्माण गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।





