काठमाडौँ । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो साता ३ करोड ७९ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।
चलचित्र विकास बोर्डको असोज ४ गते आइतबार राति ११ः५९ बजेसम्मको बक्स अफिस रिपोर्टअनुसार फिल्मले ३ करोड ७९ लाख ७६ हजार ४७ रुपैयाँ कमाएको हो । उक्त अवधिमा फिल्म १ लाख २९ हजार ११८ दर्शकले हेरेका छन् ।
दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय रहेको फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् ।
यता, सोही मितिमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले पहिलो साता २ करोड ६८ लाख २८ हजार ५२९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मलाई ९४ हजार ८८५ दर्शकले हेरेका छन् ।
सशान कँडेल निर्देशित ‘बेहुली’मा पारस बम ठकुरी ‘कुल ब्वाइ’, दिव्या रायमाझी, सुशान्त कार्की, सरिता गिरीलगायत कलाकारको अभिनय छ । प्रेम तथा पारिवारिक कथामा आधारित फिल्म अर्जुन पोखरेल प्रस्तुतकर्ता हुन्।





