काठमाडौँ । तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म बनेको छ । सोमबार सार्वजनिक चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार आइतबार (हिजो)सम्म फिल्मले सात करोडमाथिको व्यापार गरेको छ । फिल्मको पहिलो १० दिनको कमाइ नै झन्डै चार करोड हाराहारी थियो ।
असोज ११ गतेसम्म फिल्मले ७ करोड १ लाख ४१ हजार ४०३ रुपैयाँ कमाइ गरेको छ भने सो अवधिसम्म २ लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन् । यसअघि यस वर्ष ‘गौँथली’ र ‘लालीबजार’ले बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका थिए । ‘पेन्सन पट्टा’को व्यापारिक रफ्तार हेर्दा यसले ‘लालीबजार’को ९ करोडको आँकडा यसै साता पार गर्ने देखिन्छ ।
‘पेन्सन पट्टा’सँगै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले भने ११ असोजसम्म तीन करोडको आँकडा पनि पार गर्न सकेको छैन । जबकि, यो फिल्मले ओपनिङमा ‘पेन्सन पट्टा’लाई पनि उछिनेको थियो । फिल्मले आइतबारसम्म २ करोड ९६ लाख ३६ हजार ३९४ रुपैयाँ ग्रस कमाइ गरेको छ । सो अवधिसम्म फिल्मलाई १ लाख ५ हजार ३३८ जनाले हेरेका छन् ।
त्यस्तै, भदौ १२ गते प्रदर्शन भएको फिल्म ‘पार्वती’ले २ करोड २८ लाख ५५ हजार ७३ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ । फिल्मका ८१ हजार ३९७ वटा टिकट बिक्री भएका छन् । यसको एक सातापछि प्रदर्शन भएको कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले ३५ हजार ३३७ वटा टिकट बिक्रीबापत १ करोड २५ लाख १३० रुपैयाँ ग्रस कमाएको छ ।
बोर्डले असोज २ गते एकसाथ प्रदर्शन भएका तीन फिल्म ‘झिँगेदाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो’को पनि कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार ‘झिँगेदाउ २’ले १ करोड ३४ लाख ८३ हजार ९२१ रुपैयाँ, ‘कार्की साइँला’ले ५ लाख ७८ हजार ६६० रुपैयाँ र ‘माया बस्छ कि के हो’ले जम्मा २३ हजार ६६० रुपैयाँ ग्रस कमाएका छन् ।





