मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘पार्वती’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट, सबै उमेर समूहका दर्शकले हेर्न पाउने

रङ्गमञ्च
रङ्गमञ्च
1 दिन अगाडि
29
1.1K
‘पार्वती’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट, सबै उमेर समूहका दर्शकले हेर्न पाउने
सारांश
नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ।

काठमाडौँ । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। योसँगै अब फिल्म सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर हेर्न पाउने भएका छन्।

भदौ १२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक ढुङ्गानाले खुशी व्यक्त गर्दै सम्पूर्ण परिवारलाई फिल्म हेर्न आग्रह गरेकी छन्।

‘हाम्रो चलचित्र ‘पार्वती’ सानो बाबुनानीदेखि हजुरबुबा–हजुरआमासम्म सबैले हेर्न मिल्ने भएको छ,’ निर्देशक ढुङ्गानाले भनिन्, ‘माया, भावना र पारिवारिक सम्बन्धले भरिएको यो चलचित्र हेर्न नभुल्नुहोला।’

अटिजम भएकी दिदी र भाइबीचको गहिरो माया तथा स्नेहको कथामा आधारित फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। उनीहरूका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा निर्देशक नीता ढुङ्गानाले नै तयार पारेकी हुन् भने संवाद तथा स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको छ।

यसअघि सार्वजनिक भएका ‘सुनको रेल’ र ‘दिदीबहिनी’ बोलका गीतले पनि दर्शकमाझ राम्रो चर्चा पाएका छन्। बाबुल गिरी र दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा हर्क साउद र बाबुल गिरीका शब्द छन्।

फिल्मका गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ।

हरिहर अधिकारी निर्माता रहेको ‘पार्वती’का कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्। फिल्मको उपत्यका तथा उपत्यकाबाहिरको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार