काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन मिति तय भएको छ । फिल्म आगामी कात्तिक २० गते अर्थात् तिहारको अवसर पारेर प्रदर्शनमा आउने भएको हो ।
रोचक कुरा के छ भने, सोही मितिमा सागरलाई छायांकनबाट हटाइएको फिल्म ‘पाँच पाण्डव’ ले पनि प्रदर्शन मिति तय गरेको छ । बिहीबार ‘पाँच पाण्डव’ले कात्तिक २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको केही समयपछि ‘डल्लेले इन्ट्री मार्यो’ले पनि यही मितिमा प्रदर्शन हुने जानकारी गराएको हो ।
गत चैतमा सागरमाथि अमेरिकामा बस्ने एक युवतीले बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए । त्यसपछि छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’बाट उनलाई हटाइएको थियो । फिल्मका लागि उनले करिब १० दिन छायांकन गरिसकेका थिए । उनलाई हटाएपछि निर्माण पक्षले उनको स्थानमा अन्य कलाकार लिएर पुनः छायांकन गरेको थियो ।
यसअघि नै गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्यो’ सागर पक्राउ परेपछि प्रदर्शन स्थगित भएको थियो । अहिले ‘पाँच पाण्डव’सँग एउटै मितिमा प्रदर्शन गर्ने गरी फिल्मको नयाँ मिति तय गरिएको हो ।
राजु गिरीको निर्देशनमा बनेको ‘डल्लेले इन्ट्री मार्यो’मा सागर पहिलोपटक मुख्य भूमिकामा देखिँदैछन् । यस फिल्मका लागि उनले आफ्नो करिअरकै उच्च पारिश्रमिक लिएको बताइएको छ । निर्देशक गिरीले सागरलाई पारिश्रमिकबापत ३५ लाख रुपैयाँ दिएको बताएका थिए ।
पत्रकार लक्ष्मण सुवेदीको पटकथा तथा संवाद रहेको फिल्ममा सागरसँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, रविन्द्र झा, कैलाश रावत, विशाल पहाडी, सावित्रा चिलुवाल र लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय छ ।
फिल्मका निर्मातामा सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी रहेका छन् ।





