काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सवीर श्रेष्ठको सहकार्यमा तयार भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।
सोमबार रेखा थापाले सञ्चालन गर्दै आएको बीआर क्याफेमा आयोजित कार्यक्रममा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो। अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर गरिएको कार्यक्रममा फिल्मको रिलिज डेट सार्वजनिक गरिएको हो।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बनेको चलचित्र अब प्रदर्शन मिति तय भएसँगै प्रचारप्रसारमा केन्द्रित हुने भएको छ। निर्माण पक्षले घटस्थापनाको अवसर पारेर चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।
‘छत्तीसको आँकडा’को कथा दुई महिला पात्रबीचको द्वन्द्व वरिपरि घुमेको छ। चलचित्रमा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक पोस्टरमा रेखा प्रहरी अधिकारीको भूमिकामा देखिएकी थिइन् भने उनले पूजा शर्माको पात्रलाई हत्कडी लगाएर नियन्त्रणमा लिएको दृश्य समेटिएको थियो। पोस्टरले दुई पात्रबीचको संघर्षलाई संकेत गरेपछि चलचित्रप्रति दर्शकको चासो बढेको थियो।
चलचित्रमा रेखा र पूजासँगै महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको अभिनय रहेको छ। रेखाको जोडीका रूपमा महेश त्रिपाठी प्रस्तुत हुँदैछन् भने पूजाको जोडीमा पुष्प खड्का देखिनेछन्। पुष्प र पूजाले पहिलोपटक पर्दामा जोडीका रूपमा सहकार्य गर्न लागेका हुन्।
यस्तै, रेखा थापा र निरुता सिंहले पनि लामो समयपछि एउटै चलचित्रमा काम गरेका छन्। उनीहरूले यसअघि ‘दुई पल’मा सँगै अभिनय गरेका थिए।
निर्देशक सवीर श्रेष्ठ र रेखा थापाको सहकार्य भने नयाँ होइन। उनीहरूले यसअघि ‘राम प्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्यो मेरो मन’ लगायतका चलचित्रमा काम गरिसकेका छन्। रेखा र पूजा भने ‘उपहार’पछि पुनः एउटै चलचित्रमा देखिन लागेका हुन्।





