काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको डिजास्टर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित समारोहमा फिल्मको ट्रेलर प्रदर्शन गरिएको हो ।
फिल्म असोज २३ गते (९ अक्टोबर) देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट आएका १६ जना कलाकारको समेत सहभागिता रहेको थियो ।
सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । ‘डिजास्टर’ जनरामा निर्माण भएको फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ ।
फिल्मका महत्वपूर्ण दृश्यहरू कृत्रिम सेटमा मात्र नभई कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्रै समेत छायांकन गरिएको बताइएको छ । यसले फिल्मको कथालाई वास्तविक परिवेशसँग जोड्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ ।
फिल्मलाई डीडी किन्लेले निर्देशन गरेका हुन् । सांगे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेको फिल्ममा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको डिपार्टमेन्ट अफ एमसीआईआइपी र निर्देशक किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ ।
फिल्मका क्रिएटिभ निर्माता प्रदीप खड्का हुन् ।





