काठमाडौं । जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले चलचित्रको शीर्षकसँगै क्रेडिट सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।
चलचित्रको लेखन तथा निर्देशन मार्टिन भण्डारी र डार्विन श्रेष्ठले गर्नेछन्। त्यस्तै, अमन श्रेष्ठ सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरका रूपमा रहनेछन्। चलचित्रका निर्माता अमन श्रेष्ठ र डार्विन श्रेष्ठ हुन् भने सह–निर्मातामा मार्टिन भण्डारी रहेका छन्।
‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ भन्ने स्लोगनसहित चलचित्रको घोषणा गरिएको हो।
चलचित्रको टाइटल घोषणा पनि विशेष भिडियोमार्फत गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको घोषणा भिडियोमा प्रयोग गरिएका शब्द, प्रस्तुति र शैलीलाई सामान्य टाइटल घोषणाभन्दा फरक राखिएको छ। भिडियोमार्फत चलचित्रप्रति दर्शकमा कौतुहलता सिर्जना गर्ने प्रयास गरिएको देखिन्छ।
चलचित्रमा को–को कलाकार रहनेछन्, यसको कथा तथा विषयवस्तु के हुनेछ र छायांकन तथा प्रदर्शन मिति कहिले तय हुनेछ भन्ने विषयमा भने निर्माण पक्षले थप जानकारी सार्वजनिक गरेको छैन।





