काठमाडौं । निर्देशक विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘२६ करोड’ को मुम्बईमा औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईस्थित पाँचतारे होटल ‘ताज ल्याण्ड्स एन्ड’मा क्यान्सर पीडितको सहयोगार्थ आयोजित ‘रोज डे’ समारोहमा बलिउड अभिनेता विवेक ओबेरोय र निर्माता सुभाष भुसालले संयुक्त रूपमा फिल्मको घोषणा गरेका हुन् ।
फिल्मको घोषणासँगै यसको मुख्य भूमिकामा साहारा शाह अनुबन्धित भएकी छन् । नेपाली मूलकी साहाराले यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गर्न लागेकी हुन् । उनले बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रिपेयर्स एकेडेमी’बाट अभिनय प्रशिक्षण लिएकी छन् ।
साहारा क्यान्सरबाट निको भएकी ‘क्यान्सर सर्भाइभर’ समेत हुन् । लामो समयदेखि विवेक ओबेरोयले उनको अभिभावकत्व सम्हाल्दै आएका छन् । फिल्म घोषणा कार्यक्रममा ओबेरोयले साहाराको फिल्मी यात्रा सुरु हुन लागेकोमा आफू भावुक भएको बताए ।
‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाका रूपमा देखेको थिएँ । आज उनले क्यान्सरलाई जितेर फिल्मको मुख्य नायिकाका रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु,’ उनले भने ।
सामाजिक कथामा निर्माण हुने फिल्ममा प्रदीप खड्का यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा प्रदीप र साहाराको जोडी देखिनेछ ।
किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी डिसेम्बर अर्थात् पुस महिनाबाट नेपाल र भारतका विभिन्न स्थानमा सुरु गरिने जनाइएको छ । फिल्मको लेखनसमेत निर्देशक विकास सुवेदी स्वयंले गरेका छन् ।





