काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’को निर्माणमा बनेको फिल्म ‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको टिजरले फिल्मको कथा, पात्र र ग्रामीण परिवेशको झलक प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ।
टिजरको सुरुवात केही गाउँलेहरू डाँडामा बसेर कुनै योजना बनाइरहेको दृश्यबाट हुन्छ। उनीहरूबीचको रमाइलो संवादले फिल्मको हास्य र व्यंग्यात्मक शैलीलाई संकेत गर्छ। टिजरमा एक पात्रले, ‘गाउँको लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है ?’ भनेर प्रश्न गर्छिन्। त्यसको जवाफमा अर्की पात्र भन्छिन्, ‘सालिक त बनाउलान् नि हरामीहरूले।’ लगत्तै अर्को पात्रको संवाद आउँछ, ‘अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?’ यी संवादले फिल्मको कथावस्तुप्रति थप कौतुहलता सिर्जना गर्छन्।
टिजर सार्वजनिकसँगै आयोजित पत्रकार भेटघाटमा निर्देशक बिक्की अग्रवालले आफूहरूले राम्रो फिल्म बनाउने इमानदार प्रयास गरेको बताए। ‘राम्रो फिल्म बनाउने कोशिश गरेका छौं। बाँकी अब दर्शकको हातमा छ,’ उनले भने। श्रद्धा प्रसाईंसँगको सहकार्यमा अग्रवालले फिल्म निर्देशन गरेका हुन्।
फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दीया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुनमगर, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको पटकथा निर्देशक बिक्की अग्रवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माताका रूपमा रहेका यस फिल्मलाई आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ।





