काठमाडौं । अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ यही शुक्रबार अर्थात् असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको केही दिनअघि निर्माण पक्षले फिल्मको दोस्रो विस्तारित ट्रेलर सार्वजनिक गरेको छ ।
साढे दुई मिनेट लामो ट्रेलरमा जातीय विभेदसँगै त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक ‘जदौ हजुर’ र ‘तिमीसँग नबोली’ बोलका गीतले दर्शकमाझ चासो बढाइरहेका बेला सार्वजनिक नयाँ ट्रेलरले फिल्मको कथावस्तुबारे थप संकेत गरेको छ ।
ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ । केही दर्शकले कलाकारहरूको संवाद र अभिनयको प्रशंसा गरेका छन् भने कतिपयले समाजमा रहेको यथार्थ विषयलाई फिल्ममार्फत प्रस्तुत गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन् । मुख्य अभिनेता प्रभात पाल ठकुरीको लुक्स र अभिनयले पनि दर्शकको ध्यान तानेको छ ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर (खबपु), सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्कीलगायत कलाकारको अभिनय छ । फिल्मको लेखन निर्देशक काजी लिम्बूले गरेका छन् ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ । मनोज चौलागाईं र भुपेन्द्र बज्राचार्यको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्मको हल बुकिङसमेत खुलिसकेको छ ।





