काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २३ करोड ५५ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार ‘गौँथली’ले साउन ३१ गतेसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मका ८ लाख ५५ हजार ७५२ वटा टिकट बिक्री भएका छन्।
फिल्मले पछिल्लो सात दिनमै ३ करोड ८४ लाख रुपैयाँभन्दा बढी कमाएको देखिन्छ। साउन २४ गतेसम्म ‘गौँथली’को कमाइ १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ थियो। पछिल्लो एक साताको कमाइले फिल्मको व्यापारिक रफ्तार अझै बलियो रहेको देखाएको छ।
‘टक्सिक’को प्रदर्शनअघि अर्थात् भदौ १० गतेसम्म ‘गौँथली’ले २५ करोड रुपैयाँको आँकडा पार गर्ने अनुमान गरिएको छ।
यससँगै ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ। फिल्मले ‘कबड्डी ४’को २१ करोड ४० लाख रुपैयाँको रेकर्ड तोड्दै यो उपलब्धि हासिल गरेको हो। अब सर्वाधिक कमाइको सूचीमा ‘गौँथली’भन्दा अगाडि ‘पूर्णबहादुरको सारङ्गी’ रहेको छ, जसले ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ ग्रस कमाएको थियो। उक्त रेकर्ड तोड्न ‘गौँथली’ले अझै २३ करोड रुपैयाँभन्दा बढी कमाउनुपर्नेछ।
यसैबीच, चलचित्र विकास बोर्डले साउन २२ गतेदेखि प्रदर्शनमा आएका ‘हली’ र ‘कमला मिस’को बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ। ‘हली’ले ७ हजार ७१० टिकट बिक्रीबाट २१ लाख ७७ हजार ६० रुपैयाँ ग्रस कमाएको छ भने ‘कमला मिस’ले ७१८ टिकट बिक्रीबाट २ लाख ६१ हजार ८४५ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ।





