काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘अक्षरा’ अब असोज २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। यसअघि भदौ २६ गते रिलिज हुने तय भएको चलचित्र रसुवामा आएको बाढीका कारण मंसिर २४ गतेका लागि सारिएको थियो।
बुकिङसमेत खुलिसकेको अवस्थामा प्रदर्शन स्थगित भएको ‘अक्षरा’लाई अब दसैंको अवसर लक्षित गर्दै पुनः असोज २३ गते प्रदर्शनमा ल्याउने निर्णय गरिएको हो। मंगलबार चलचित्रका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक दुई पोस्टरमध्ये एउटामा न्यान्सी खड्का र सुशील सिटौला देखिएका छन्। पोस्टरमा उनीहरूबीच आगो बलिरहेको दृश्य समेटिएको छ, जसले दुई पात्रबीचको तनावपूर्ण सम्बन्धको संकेत गर्छ। अर्को पोस्टरमा भने न्यान्सी र सुशीलसँगै रिस्ता बस्नेत, उत्तम केसीलगायत कलाकारलाई प्रस्तुत गरिएको छ।
विनयराज पौडेलको निर्देशनमा तयार भएको यो चलचित्र उनको डेब्यू निर्देशकीय काम हो। चलचित्रमा न्यान्सी र सुशीलसँगै रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना र त्रिलोचन न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको ‘अक्षरा’मा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्।
चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र विनयराज पौडेलको रहेको छ। कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको चलचित्र असोज २३ गतेदेखि दर्शकमाझ आउनेछ।





