काठमाडौं । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘सिन्दूर’को छायांकन सुरु भएको छ । कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण हुने फिल्मको छायांकन शुक्रबारदेखि दाङबाट थालिएको हो ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने ‘सिन्दूर’मा सञ्जीव सार्कीले लगानी गरेका छन् । निर्देशक सुनार यसअघि ‘बुलाकी’ र ‘परालको आगो’जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा देखिँदैछन् । निर्माण पक्षका अनुसार करिब एक महिनाको समयावधि निर्धारण गरेर छायांकन अघि बढाइएको हो ।
सामाजिक विषयवस्तुलाई आधार बनाइएको फिल्मले नेपाली समाजमा सिन्दूरसँग जोडिएको विवाह, सम्बन्ध र महिलाको जीवनका विभिन्न पक्षलाई कथाको केन्द्रमा राखेको छ । महिलाको जीवनमा सिन्दूरको महत्वसँगै यससँग गाँसिएका सामाजिक र भावनात्मक आयामलाई फिल्ममार्फत प्रस्तुत गरिने निर्माण पक्षको भनाइ छ ।
‘सिन्दूर’को कार्यकारी निर्मातामा दिनेश सिंह महरा छन् । संकल्प भुजेलले छायांकन गर्ने फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ ।
त्यस्तै, प्रकाश हमाल निर्माण प्रमुख तथा करणबहादुर साउद मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । फिल्मको नृत्य निर्देशन रामजी लामिछानेले गर्नेछन् ।





