००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

'भाईरल गोर्खे' भारतका विभिन्न सहरमा रिलिज हुँदै

R
Rangamanch
२०२६ जनवरी २२
151
'भाईरल गोर्खे' भारतका विभिन्न सहरमा रिलिज हुँदै
सारांश
नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका सहरमा सिनेमा प्रदर्शन हुने निर्माता अमित श्रेष्ठले बताए ।

काठमाडौँ । गत माघ १ गतेबाट नेपाली हलमा प्रदर्शनरता सिनेमा 'भाईरल गोर्खे' अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ । भोलि शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्ने सिनेमा भारतका विभिन्न सहरमा चाँडै प्रदर्शन हुन लागेको हो ।

भारतमा नेपाली सिनेमा रिलिज गर्दै आएको एक कम्पनिसँग सिनेमा रिलिजको मौखिक सहमति भैसकेको निर्माता अमित श्रेष्ठले बताए । भारतमा सिनेमा रिलिजको जिम्मा लिएका ती व्यक्ति केही दिनमा नेपाल आएर लिखित सम्झौताको तयारी रहेको निर्माता श्रेष्ठको दाबी छ ।

भारतको राजधानी दिल्लीसहित नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका सहरमा सिनेमा प्रदर्शन हुने निर्माता अमित श्रेष्ठले बताए । ‘भाईरल गोर्खे’ले नेपालमा दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएपछि ती वितरक भारतमा रिलिज गर्न आफ्नो टिमको सम्पर्कमा आएका निर्माण टिमको भनाई छ ।

भारत रिलिजको लागि सम्पुर्ण तयारी पुरा भैसकेकाले लिखित सम्झौतासँग प्रक्रिया अगाडि बढ्ने निर्माता श्रेष्ठ बताउँछन् । यो सिनेमाले नेपालमा विस्तारै हलमा दर्शकको चाप बढाउँदै लगेको पनि निर्माण टिमको दाबी छ ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’को रोचक ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो सिनेमाले आफ्नो निर्देशकिय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहाना पुरा गर्ने विश्वास व्यक्त गर्छन् । समसामयिक र घर-घरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार