काठमाडौं । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा बुवाको संघर्ष, त्याग र सन्तानप्रतिको समर्पणलाई मुख्य विषय बनाइएको छ। सन्तानको सुख र खुसीका लागि बुवाले जीवनभर गर्ने संघर्ष तथा आवश्यक पर्दा जस्तोसुकै त्याग र बलिदान गर्न तयार हुने भाव ट्रेलरमा देखाइएको छ।
सन्तानका लागि जीवनभर संघर्ष गर्ने बाबुआमाको योगदान बिर्सिंदै गएको सामाजिक यथार्थलाई पनि फिल्मले कथामार्फत उठाउन खोजेको छ। आफू जन्मिएको भूमि, हुर्काएको परिवार र आफूलाई योग्य बनाउन जीवन समर्पण गर्ने बाबुआमालाई बिर्सने प्रवृत्तिमाथि फिल्मले प्रश्न उठाएको निर्माण पक्षले जनाएको छ।
ट्रेलरमा सन्तानको खुसीका लागि आफू बसेको घरसमेत बेच्न तयार हुने बुवाले अन्ततः आफ्नै सन्तानबाट पीडा पाएको देखाइएको छ। सन्तानबाट पाएको चोट सहन नसकेपछि उनले लिने कठोर निर्णयलाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ। यद्यपि, फिल्मको क्लाइमेक्सलाई भने निर्माण पक्षले सस्पेन्समै राखेको छ।
परिवार टुटेपछि मुख्य पात्रले कस्तो निर्णय लिन्छ भन्ने प्रश्न दर्शकमाझ छाड्दै ट्रेलर समाप्त हुन्छ। यसले फिल्मको कथाप्रति थप कौतुहलता सिर्जना गरेको छ।
‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती फिल्मको मुख्य कथावस्तु रहेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।
संगीतकार, रचनाकार तथा गायकका रूपमा परिचित हरि लम्सालका लागि ‘बा : एक योद्धा’ फिचर फिल्म निर्देशनमा पहिलो प्रयास हो। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा फिल्म प्रदर्शनमा आउन लागेको हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा तथा निर्देशन हरि लम्सालकै हो। वसन्त लम्साल निर्माता, अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। फिल्मको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।





