काठमाडौं - डि सिनेमा आर्ट र सुन्दर क्रियसनको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको नेपाली फिल्म ‘बिर्खे मास्टर’को शुभमुहूर्त गरिएको छ। काठमाडौंस्थित भद्रकाली मन्दिरमा आयोजित कार्यक्रममा कलाकार संघका अध्यक्ष उत्तम केसीले नरिवल फुटाएर फिल्मको शुभमुहूर्त गरेका हुन्।
शुभमुहूर्तसँगै फिल्म निर्माणको औपचारिक प्रक्रिया अघि बढेको निर्माण पक्षले जनाएको छ। फिल्ममा शिवांशी खड्का र ईश्वर खाती मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्।फिल्ममा सित्तल केसी, मिस्टी देउवा, मोहन भण्डारी, बिना श्रेष्ठ, रबिना कार्की, केबी पौडेल, प्रमिसा नेपाली र सिमन परियारलगायत कलाकारको अभिनय रहनेछ।
‘बिर्खे मास्टर’को कथा तथा निर्देशन दिनेश घिमिरे ‘मुस्कान’ले गर्नेछन् भने फिल्मको निर्माण सायरा सुनारले गर्दैछिन्। सिनेमाटोग्राफीको जिम्मेवारी सन्तोष सुनारले सम्हाल्नेछन्।
फिल्मको सांगीतिक पक्षमा सुमन बिटी, पुरन बिरही, मन्जु उपासना र मनिषा लामिछानेको स्वर रहनेछ। गीतमा योगेश पानको शब्द तथा पुरन बिरही र दिनेश मुस्कानको संगीत रहने निर्माण पक्षले जनाएको छ।
शुभमुहूर्त सम्पन्न भएसँगै फिल्मको छायांकन तथा अन्य निर्माण प्रक्रिया अघि बढाइनेछ। निर्माण पक्षले ‘बिर्खे मास्टर’लाई नयाँ कथावस्तुसहित दर्शकमाझ प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।




