काठमाडौं । भुवन केसीको निर्माण तथा निर्देशनमा तयार भएको बहुप्रतीक्षित चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ५४ सेकेन्ड लामो टिजरले चलचित्रको कथा, पात्र र परिवेशबारे केही झलक प्रस्तुत गर्दै दर्शकमा उत्सुकता बढाएको छ ।
टिजरमा अभिनेता अनमोल केसीलाई यसअघिका चलचित्रभन्दा केही फरक भूमिकामा देख्न सकिन्छ । उनको लुक्सदेखि अभिनयसम्ममा युवा अवस्थाका भुवन केसीको झल्को देखिन्छ । विशेषगरी अनमोल र प्रिन्सीबीचको केमेस्ट्री टिजरको आकर्षण बनेको छ ।
चलचित्रको टिजरमा केही दशकअघिको गाउँले परिवेशलाई प्रस्तुत गरिएको छ । कथावस्तुसँगै छायांकन र ब्याकग्राउन्ड म्युजिक पनि आकर्षक देखिन्छ । टिजरले ‘बाटुलो जून’लाई वियोगान्त प्रेमकथामा आधारित चलचित्रका रूपमा संकेत गरेको छ ।
यद्यपि, टिजरको सुरुवातमा भुवन केसीले बोलेको संवाद भने अन्य पक्षको तुलनामा केही कमजोर महसुस हुन्छ । समग्रमा भने टिजरले चलचित्रप्रति दर्शकको चासो र प्रतीक्षा बढाउने संकेत गरेको छ ।





