काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बा : एक योद्धा’ले काठमाडौंमा आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा सहभागी दर्शक तथा विभिन्न क्षेत्रका व्यक्तिले फिल्मको कथा, अभिनय, छायांकन र संगीत पक्षको प्रशंसा गरेका हुन् ।
फिल्म हेरेपछि अभिनेता हरिवंश आचार्य भावुक बने । उनले फिल्मले आफूलाई भित्रैदेखि छोएको प्रतिक्रिया दिए । उनका अनुसार फिल्मले युवाको बढ्दो विदेश पलायन, सन्तानप्रतिको अभिभावकको त्याग र अपेक्षालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
पूर्वगृहमन्त्री तथा अधिवक्ता ओमप्रकाश अर्यालले फिल्मको कथा, प्रस्तुति र सन्देशको प्रशंसा गरे । नेपाली समाजको जनजीवनसँग जोडिएको विषयलाई फिल्मले समेटेको भन्दै उनले फिल्म प्रभावकारी रहेको प्रतिक्रिया दिए ।
अभिनेत्री ऋचा शर्माले फिल्मलाई ‘एकदमै मिठो’ रहेको बताउँदै अभिनेता दिव्यदेव पन्तको अभिनयको विशेष प्रशंसा गरिन् । उनले दिव्यदेवलाई फिल्मको ‘सुपरस्टार’ भन्दै आफ्नो अभिनय क्षमता प्रस्तुत गर्ने राम्रो अवसर फिल्मले दिएको बताइन् ।
कान्समा पुरस्कृत फिल्म ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि फिल्म हेर्दा आफू धेरै ठाउँमा भावुक भएको बताइन् । विशेषगरी दिव्यदेवको एउटा संवादले आफूलाई निकै छोएको उल्लेख गर्दै उनले बुवाको भूमिकामा दिव्यदेवको अभिनयको प्रशंसा गरिन् ।
हरि लम्सालको निर्देशन तथा वसन्त लम्सालको लगानीमा बनेको फिल्ममा दिव्यदेवसँगै झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायत कलाकारको अभिनय छ ।
फिल्मले सन्तानका लागि बुबाले गर्ने त्याग र संघर्षसँगै बुढेसकालमा आफ्नै सन्तानबाट भोग्नुपर्ने पीडालाई कथाको मुख्य विषय बनाएको छ । फिल्म ९ असोजदेखि हलमा प्रदर्शनमा आउँदैछ ।





