मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘अक्षरा’को प्रचारमा साइकल र्‍याली, २ सय ५० भन्दा बढी सहभागी

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
8
640
‘अक्षरा’को प्रचारमा साइकल र्‍याली, २ सय ५० भन्दा बढी सहभागी
सारांश
यही शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले प्रचार अभियानलाई तीव्रता दिएको छ । फिल्मको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन निर्माण टिमले आइतबार काठमाडौंमा साइकल र्‍याली आयोजना गरेको हो ।

काठमाडौं । यही शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले प्रचार अभियानलाई तीव्रता दिएको छ । फिल्मको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन निर्माण टिमले आइतबार काठमाडौंमा साइकल र्‍याली आयोजना गरेको हो ।

कीर्तिपुरबाट सुरु भएको साइकल र्‍याली कपनस्थित क्लब मण्डलासम्म पुगेको थियो । र्‍यालीमा २ सय ५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिता रहेको निर्माण पक्षले जनाएको छ ।

र्‍यालीपछि क्लब मण्डलामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक विनयराज पौडेलले फिल्म महिला सशक्तीकरणको कथामा आधारित रहेको बताए । उनका अनुसार ‘अक्षरा’ले महिलाको आवाजलाई प्रस्तुत गर्नुका साथै नेपाली समाजका विभिन्न पक्षलाई समेत कथामार्फत देखाउने प्रयास गरेको छ ।

‘यो फिल्म महिलाहरूको आवाज हो । तर, यो भन्दैमा फिल्मले महिलाको मात्र कथा उठाएको छैन । नेपाली समाजका विभिन्न पक्षलाई पनि फिल्ममा देखाएका छौं,’ निर्देशक पौडेलले भने ।

फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काले ‘अक्षरा’ आफ्ना लागि विशेष फिल्म रहेको बताइन् । फिल्ममा आफ्नो अभिनय क्षमता देखाउने अवसर पाएको उल्लेख गर्दै उनले फिल्मको सिंगो कथा नै आफ्नो पात्रले बोकेको बताइन् ।

‘यो फिल्मको सिंगो कथालाई नै मेरो पात्रले क्यारी गरेको छ । त्यो हिसाबले काम गर्न निकै चुनौतीपूर्ण भयो । तर, यो मेरो लागि ठूलो अवसर पनि थियो । फिल्ममा मैले भावनाका विभिन्न आयाम देखाउन पाएकी छु,’ न्यान्सीले भनिन् ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा न्यान्सी खड्कासहित सुशील सिटौला, रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन् । ‘अक्षरा’ असोज २३ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार